रास्वपाले वेबसाइटबाट हटायो महामन्त्री मुकुलको नाम

सफल खबर संवाददाता

विहीबार, २० असार २०८१, १३ : ३६
रास्वपाले वेबसाइटबाट हटायो महामन्त्री मुकुलको नाम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेबसाइटबाट हटाएको छ ।पार्टीका आन्तरिक विषय मिडियामा ल्याएको भन्दै पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले ढकाललाई ७ दिनको लागि निलम्बन गरेको थियो ।

बिहीबार बिहानसम्म ढकालको नाम रास्वपाको आरएसपीडटओराजीमा थियो । तर, अहिलेको वेबसाइटमा उनको नाम देखिँदैन ।यसअघि उपसभापति डा. स्वर्णिम वाग्लेपछि महामन्त्री एवं प्रवक्तामा ढकालको नाम थियो । तर, वाग्लेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ । 

 

 

 

 

 

 

महामन्त्री निलम्बनमा परेपछि रास्वपाले बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको छ । सात दिने निलम्बन भनिए पनि ढकाल अब रास्वपामा सक्रिय हुने सम्भावना निक्कै कम रहेको एक केन्द्रीय सदस्य बताउँछन् । ‘बुधबारको बैठकको माहोल यत्ति तनावपूर्ण थियो कि निलम्बन सात दिनलाई भनिए पनि अब उहाँ फर्केर फेरि पार्टीमा सक्रिय हुन सहज देखिएको छैन’ ती सदस्यले भने ।

तर उनले जनताको आवाज बोल्दा पार्टीले हटाएको दाबी गरेका छन् । ‘जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेविरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए । जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन् । 

पछिल्लो समय पार्टीको निर्देशनमा ३९ जिल्ला घुमेर ढकालले पार्टी निरन्तर कमजोर बन्दै गएको र विवेकशीलजस्तो बन्न खोजेको भन्दै पार्टी सभापतिलाई ३३ पृष्ठको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा सभापति रवि लामिछानेको कार्यशैलीमाथि ढकालले निर्मम समीक्षा गरेका थिए । 

तर बुधबारको केन्द्रीय समितिको बैठक निशा डाँगीबाहेकका सबै केन्द्रीय सदस्यले ढकालको विरुद्धमा बोलेका थिए । डाँगीले पार्टीलाई सचेत गराएकै भरमा एउटा जिम्मेवार महामन्त्रीमाथि सिंगो पार्टी निर्मम बन्न नहुने बताएकी थिइन् । यद्यपि डाँगीले पनि ढकालमाथि कारवाही गरिनुपर्ने निर्णयमा हस्ताक्षर गरेको बताएकी छिन् ।