२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, १२ : ०३
२०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ:  महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गरेका हुन् । उनले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भएपनि सर्वसाधारणको पहुँचमा नआएको बताए ।

उनले अहिलेसम्म हेर्दा विभिन्न खालका सांसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताए । उनले २००८ देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसदको समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको संसदीय अभ्यास २०१५बाट शुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका सांसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्याउन सकेका छैनौं ।

आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । सांसदका समग्र गतिविधिहरुलाई वेशसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु ।’

उनले संंसदीय गतिविधिलाई ऐतिहासिक सम्पतीको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस