अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुने छ : देउवा

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, १६ : १८
अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुने छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्‌मा काँग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्‌मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताएका हुन् ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेशपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘अहिले काँग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भइरहेको छ । अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’

देउवाले मूल भन्सार भएर पनि महेशपुर भन्सार पूर्णरुपमा सञ्चालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए । पूर्वगृहराज्य मन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् ।

Tags :  

प्रतिक्रिया दिनुहोस