टी–२० विश्वकप : अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १० : ३७
टी–२० विश्वकप : अस्ट्रेलियाले बङ्गलादेशलाई हरायो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराएको छ । ‘सुपर–८’ चरणको खेलमा अस्ट्रेलियाले हासिल गरेको यो पहिलो जित हो ।

‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा एक–एक खेल खेलेका भारत र अस्ट्रेलियाको दुई–दुई अङ्क छ ।  बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । 

अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । 

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको थियो ।