प्रधानमन्त्रीकाे तेस्रो कार्यकाल सम्हालेपछि मोदी पहिलो विदेश भ्रमण इटाली जाँदै

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १६ : ०५
प्रधानमन्त्रीकाे तेस्रो कार्यकाल सम्हालेपछि मोदी पहिलो विदेश भ्रमण इटाली जाँदै

काठमाडौं। नयाँ दिल्लीभारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीवार इटाली जाँदैछन् ।

जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिनेछन् ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेका थिए । यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ ।

विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ ।

एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताए । ‘यसले उहाँलाई भारत र ग्लोबल साउथका लागि महत्त्वपूर्ण मुद्दाहरूमा जी–७ शिखर सम्मेलनमा उपस्थित अन्य विश्व नेताहरूसँग सम्लग्न हुने अवसर पनि दिनेछ । यो जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ,’ उनले भने ।

क्वात्राका अनुसार जी–७ शिखर सम्मेलनमा विशेषत आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, अफ्रिका र भूमध्यसागरको अवस्थाबारे छलफल गरिनेछ । ‘जी–७  शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले शान्ति, सुरक्षा, विकास र वातावरण संरक्षण लगायत विश्वव्यापी चुनौतिहरूको समाधान गर्ने प्रयासमा गरेको निरन्तर प्रयासहरूको बढ्दो मान्यता र योगदानलाई कदर गरिनेछ,’ उनले थपे ।

जनवरी १ मा इटालीले सातौँ पटक जी–७ को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी–७ सदस्य राष्ट्र हुन्। 

सात सदस्य राष्ट्रका नेताहरू, साथै युरोपेली परिषद्का अध्यक्ष र युरोपेली सङ्घको प्रतिनिधित्व गर्ने युरोपेली आयोगका अध्यक्षले जी–७ शिखर सम्मेलनमा भाग लिनेछन्। भारत, टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसहित धेरै राज्यहरूलाई पनि इटालीले जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेको छ । 

प्रतिक्रिया दिनुहोस