छात्रवृत्ति अक्षयकोष स्थापना गर्न नेपाल बैंक र प्रहरीबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, १४ : ११
छात्रवृत्ति अक्षयकोष स्थापना गर्न नेपाल बैंक र प्रहरीबीच सम्झौता

काठमाडौं। छात्रवृत्ति कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेड र नेपाल प्रहरीबीच सम्झौता भएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

उक्त समारोहमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले ३० लाख रुपैयाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाललाई हस्तान्तरण गरेका थिए ।

नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक कुँवरले बैंकप्रति आभार प्रकट गरे ।

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।उक्त छात्रवृत्ति ९ वटा प्रहरी स्कूलमा अध्ययनरत शहीद तथा अशक्त प्रहरी कर्मचारीका सन्तति र बहालवाला एवं पूर्व प्रहरीका सन्ततिहरूले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस