मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने

एजेन्सी

आइतबार, २७ जेठ २०८१, १२ : ३२
मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने

काठमाडौँ । आज साँझ ७ः१५ मा भारतको नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्रीत्वको शपथ हुँदैछ । शपथग्रहणमा बोलाइएको आठ हजार निम्तालुमा विपक्षी गठबन्धनका नेताहरू नआउने बताइएको छ । भारतीय मिडिया बिजनेस स्टान्डर्डका अनुसार विपक्षी गठबन्धनको प्रमुख घटक कंग्रेस नेताले निम्तो नआएको बताएका छन् ।

कङ्ग्रेसका महामन्त्री जयराज रमेशका अनुसार विपक्षी इन्डिया गठबन्धनलाई निम्तो गरिएको छैन । उनले मोदी सहभागी गठबन्धन एनडिए नेसनल डेमोक्रेटिक अलायन्स नभएर नरेन्द्र डिस्ट्रक्टिभ अलायन्स भएको समेत टिप्पणी गरेका छन् ।

मोदीको आज शपथग्रहण हुँदै गर्दा विपक्षी नेताहरूले उनी विरुद्ध चर्का भाषण गरिरहेका छन् । पश्चिम बङ्गालका ४२ सिटमा २९ सिट जितेर सबैभन्दा धेरै सिट ल्याएकी त्रिणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जीले मोदीको नयाँ सरकार अलोकतान्त्रिक र गैरकानूनी भएको टिप्पणी गरेकी छिन् ।

पश्चिम बंगालबाट प्रकाशन हुने अखबार दी स्टेट्सम्यानका अनुसार ममताले कालिघाट आवास क्षेत्रमा भएको कार्यक्रममा शनिवार आफ्ना सांसदहरूलाई भेला गरेर यस्तो बताएकी हुन् ।

बिजेपीले चुनाव हारेको भन्दै मोदीले सत्ता छोडेर अरूलाई स्थान दिनुपर्ने पनि ममताले कार्यक्रममा बताएकी थिइन् । आज शपथ लिने मोदीले यही हप्ता जी ७ को बैठकमा सहभागी हुन इटाली यात्रा गर्ने भारतीय अखबार हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।