तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी

एजेन्सी

मंगलबार, ०४ असार २०८१, १० : ०४
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी

एजेन्सी । लगातार तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आज (मंगलबार) आफ्नो निर्वाचन क्षेत्र वाराणसी जाँदै छन् ।

यस क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने बताइएको छ । बीबीसी हिन्दीका अनुसार यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ।

प्रधानमन्त्री मोदी अपराह्न ४ बजे बाटपुरस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। त्यसपछि उनी साँझ ५ बजे प्रधानमन्त्री किसान सम्मान सम्मेलनमा सहभागी हुनेछन् । त्यसपछि मोदीले वाराणसीको दशाश्वमेध घाटमा गंगा आरती हेर्नेछन् र काशी विश्वनाथ मन्दिरको दर्शन गर्नेछन्।

मोदी तेस्रोपटक वाराणसीबाट सांसद निर्वाचित भएका हुन्। तर जुन ४ को चुनावी नतिजामा उनको जितको मतान्तर १ लाख ५० हजार मात्र थियो। यो कुनै पनि प्रधानमन्त्रीको जितको सबैभन्दा कम अन्तर हो। कांग्रेस प्रदेश अध्यक्ष अजय राई दोस्रो स्थानमा थिए ।  

केही दिनअघि भारतीय कंग्रेस नेता राहुलले एक जनसभामा प्रियंका गान्धीले वाराणसीबाट चुनाव लडेको भए प्रधानमन्त्री मोदीले चुनाव हार्ने दाबी गरेका थिए ।