काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन ।
सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो ।
बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ ।गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो ।
आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।
भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको जापानका सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्य सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।
जापानमा भूकम्पले धेरै क्षति किन हुँदैन ?
जापानमा भूकम्पको धक्का महसुस हुनु सामान्य मानिन्छ । सन् १९२३ मा जापानको राजधानी टोक्यो शहरमा भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो । बीबीसीका अनुसार त्यतिबेला १ लाख ४० हजार जनाको ज्यान गएको थियो भने टोक्यो शहर भग्नावशेष बनेको थियो ।
त्यसपछि जापानमा भूकम्प प्रतिरोधी संरचनामा जोड दिइयो । सन् २०११ को भूकम्पमा अग्ला गगनचुम्बी भवनहरू हल्लिए पनि भत्किएका थिएनन् । त्यतिबेला भूकम्पले नभई सुनामीका कारण धेरैको ज्यान गएको थियो ।
बीबीसीका अनुसार जापानमा नयाँ भवन निर्माण गर्दा जगमा नै ‘साइस्मिक आइसोलेशन’ भनिने भूकम्प प्रतिरोधी प्रविधि जडान गरिने भएकाले भूकम्पले धेरै क्षति पुर्याउँदैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ जेठ २०८१, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम नेपालमा भूकम्पको चेतावनी
भूकम्पमा परी मानवीय क्षति छैनः प्रशासन कार्यालय, बाजुरा
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
बझाङमा लगातार दोस्रो दिन भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प