गिरिबन्धु र टेरामक्सका फाइल पनि खोल्न चाहन्छौं : रास्वपा

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, १२ : ५७
गिरिबन्धु र टेरामक्सका फाइल पनि खोल्न चाहन्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताए ।

‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे ।

रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए । यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको सहप्रवक्ता झाको जिकिर छ ।

सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसदमा भएको अवरोधको विषय पनि उनले सम्झिए । आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि तयार रहेको आफूहरुको धारणा रहेको उनको भनाइ छ ।

आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै उनले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।‘२६ हजार ९३४ दिन जेठो पार्टीले सबै चीज बिगार्‍यो भनेर हामी राजनीतिमा आएका होइनौं’, कांग्रेसलाई लक्षित गर्दै उनले भने । विगतमा राजनीतिक दलहरुले परिवर्तनका लागि खेलेको भूमिकाको आफूहरुले सधैं प्रसंसा गर्ने तर, राजनीतिक परिवर्तनमा कपिराइट र क्रेडिट एकै पक्ष वा दलसँग नहुने उनको भनाइ छ । झाले भने, ‘यसमा बहुआयामिक सबैको योगदान रहेको हुन्छ ।’

राजनीतिमा स्पेस भएकैले आफूहरु आएको उल्लेख गर्दै उनले केही गरौं भनेरै आएको पनि दोहोर्‍याए । उनी थप्छन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका होइनौं । हामीसँग धेरै आधारहरु छन् । केही गर्न आएका छौं ।’