सैफ अलि खानको घरमा भेटियो तरबार

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०८१, ११ : १४
सैफ अलि खानको घरमा भेटियो तरबार

काठमाडौं। मुम्बई प्रहरीले अभिनेता सैफ अलि खानको घरबाट पुरानो तरबार बरामद गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो तरबार पुरानो र पुस्तैनी देखिन्छ । जो सैफ अलि खानको परिवारसँग सम्बन्धित हुनसक्ने बताइएको छ । तर, हालसम्म यसबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।

मुम्बई प्रहरी र क्राइम ब्रान्चबीच समन्वयको अभावका कारण अनुसन्धानमा असर परिरहेको भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अभिनेता सैफ अलि खानमाथि आक्रमण गर्ने व्यक्ति घटना भएको ३२ घण्टा बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन् ।

 

 

 

 

क्राइम ब्रान्चका स्रोतका अनुसार बान्द्रा प्रहरीले उनीहरूलाई पर्याप्त जानकारी उपलब्ध गराएको छैन। बान्द्रा प्रहरी स्टेशनमा यस अपराधसँग सम्बन्धित सीसीटीभी फुटेज र डीभीआर उपलब्ध छन्।

तर, क्राइम ब्रान्चलाई रातिको समयमा भएको यस आक्रमणबारे जानकारी करिब पाँच घण्टापछि मात्र दिइएको थियो। प्रहरी र क्राइम ब्रान्चबीचको जस लिने होडका (प्रतिष्ठाको लडाइँ) कारण आरोपीलाई फाइदा पुगिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 

 

एक अधिकारीले बताए अनुसार, प्रहरीले हालसम्म आरोपीबारे कुनै ठोस जानकारी पाउन सकेको छैन। यसकारण, प्रहरीले बान्द्रा टर्मिनसबाट त्यस समयमा जाने सबै ट्रेनका यात्रुहरूसँग सोधपुछ गरिरहेको छ। साथै, रातको समयमा चल्ने अटो रिक्सा चालकहरूसँग पनि जानकारी संकलन गर्ने प्रयास भइरहेको छ।

आरोपीको खोजीमा २० वटा टोली सक्रिय
सैफ अलि खानमाथि भएको आक्रमणका सम्बन्धमा प्रहरी पूर्ण सक्रिय रहेको छ। आरोपीलाई पक्रन २० वटा टोली गठन गरिएको छ, जसलाई फरक-फरक जिम्मेवारी दिइएको छ। यी टोलीहरूले विभिन्न ठाउँमा छापा मार्दै आरोपीलाई पक्राउ गर्न प्रयास गरिरहेका छन्।

प्रहरीले छिटोभन्दा छिटो आरोपीलाई पक्राउ गर्ने लक्ष्य राखेर आफ्नो कार्य तीव्र बनाएको जनाएको छ।

बुधबार बिहान २ बजे आक्रमणमा परेका सैफ घाइते छन् । उनको उपचार चलिरहेको छ । शल्यक्रियापछि उनी खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । उनको घाउबाट करिब तीन इन्च लामो धारिलो वस्तुको टुक्रा निकालिएको थियो । 

प्रतिक्रिया दिनुहोस