नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री

सफल खबर संवाददाता

शनिबार, १९ जेठ २०८१, ०९ : २४
नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले बंगलादेशका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान  गरेका छन्। मन्त्री तामाङले यसरी गरिएको उनीहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने बताए । 

नेपाल र बंगलादेशबीच सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्‍याउन सके द्विपक्षीय विकासको गति लिनसक्ने उनको धारणा थियो। शुक्रबार साँझ नेपाल बंगलादेश फ्रेण्डसिप सोसाइटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। 

नेपाल र बंगलादेशबिच सम्बन्ध ऐतिहासिक रहेको भन्दै उनले विपद्मा बंगलादेशले अतुलनीय सहयोग गरेको बताए । अब त्यस्तो सम्बन्धलाई सांस्कृतिक रूपमा बलियो पार्दै दुई देशको विकाससँग जोड्नुपर्ने बताउँदै  मन्त्री तामाङले बिद्युत व्यापारबाट नेपालले बंगलादेशको उर्जा संकट समाधान गर्नसक्ने  बताए। 

नेपाल र बंगलादेशबीचको सम्बन्ध जनस्तरसम्म जोडिन र नेपालमा बढी भन्दा बढी बंगलादेशी पर्यटक भित्र्याउन बंगालीले नेपालको बिभिन्न क्षेत्रमा लगानी गर्नुपर्ने उनको जोड थियो । उनले भने, ‘हाम्रा तमाम समानता छन् र उस्तै विविधता पनि छन्। मुख्य कुरा सामूहिक स्वार्थ समान छ। दुई देश र जनस्तरमा सहयोग आदानप्रदान गर्न सके दुवै देशको विकासमा राम्रो टेवा पुग्नेछ।’