काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने बताएको उनको सचिवालयले जनाएको छ ।
हवाई टिकटको अनावश्यक भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने उनको भनाइ छ । प्रचण्ड नेतृत्वकै सरकारले गत वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो ।
उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरि कम्तीमा १६ लाख पर्यटक भित्राइने समेत बताए । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको दाबी छ ।
पर्यटन क्षेत्रले बेहोरिरहेको समस्या समाधान गर्न सरकार लागि परिरहेको समेत उनले दाबी गरे । विश्व पर्यटन बजारमा नेपाल घुम्नैपर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएको नयाँ गन्तव्यमा पूर्वाधार निर्माणमा सरकार लागेको उनले बताए ।
प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्या बढाइने उनको भनाइ छ । पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने उनले बताए ।
नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकीय गन्तव्य भएको उनले बताए । पर्यटन क्षेत्रको विकासले नै मुलुकलाई समृद्ध पार्न आधार तयार पार्ने उनको भनाइ छ ।
भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो २ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन क्षेत्र सुधार्ने नेपाल एयरलाइन्सले नै हो ; मन्त्री पाण्डे
राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन
यो वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं : पर्यटनमन्त्री
नेपालमा लगानी गर्नुहोस्,लगानीको सुरक्षा सरकारले गर्छ : पर्यटनमन्त्री
अभिलेख संरक्षण परम्परागत भयो, आधुनिक तरिकाले गरौं : पर्यटनमन्त्री तामाङ