काठमाडौं। आफू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू र आफ्नो सञ्चारमाध्यम विचलित नहुने बताएका छन् ।मंगलबार विज्ञप्तिमा जारी गर्दै उनले सहकारी ठगीका विषयमा कान्तिपुरले समाचार लेखेर आवाज उठाएकाले आफूविरुद्ध राज्य संयन्त्रले प्रतिशोध साँधेको आरोप लगाएका हुन् ।
सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफैं पनि जेल गएको स्मरण गर्दै सिरोहियाले अहिले पनि व्यक्तिगत रुपमा हरेक मूल्य चुकाउन तयार रहेको चुनौती दिएका छन् ।
‘कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रुपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं पनि जेल गएको हुँ ।’
कान्तिपुरको समाचार रोक्न, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफ्नाविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गरिएको अध्यक्ष सिरोहियाको गुनासो छ ।
‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ उनले भनेका छन्, ‘यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा मंगलबार पक्राउपुर्जी जारी भएको छ ।उनलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरिएको हाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
रिहा भएपछि कैलाश सिरोहिया : अब कानुनी उपचारमा जान्छु
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा
कैलाश सिरोहिया मेडिसिटीको सीसीयूमा
कैलाश सिरोहियालाई अदालत उपस्थित गराइँदै
मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना