रिहा भएपछि कैलाश सिरोहिया : अब कानुनी उपचारमा जान्छु

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ०७ : ३९
रिहा भएपछि कैलाश सिरोहिया : अब कानुनी उपचारमा जान्छु

काठमाडौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले अनुचितरूपमा हिरासतमा राख्नेविरुद्ध कानुनी उपचार खोज्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

बुधबार हाजिरी जमानीमा रिहा भएपछि उनले यस्तो बताएका हुन् ।  प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी आफूलाई पक्राउ गरेर ९ दिनसम्म हिरासतमा राखेकाले यस योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने उनको विज्ञप्तिमा उल्लेख छ । 

अहिले हाजिरी जमानीमा छाडिएको र थप अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ। उनले समग्र पेसालाई तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका नरहेको बताए।

उनले लेखेका छन्, ‘मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन।’

सिरोहियाले आफू गैरनेपाली रहेको, दुई/तीन थरी नागरिकता रहेको र  नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौतीसमेत दिए। 

सिरोहियालाई जेठ ८ गते प्रहरीले थापाथलीस्थित कान्तिपुर मिडियाको मुख्यालयबाट पक्राउ गरेको थियो।