झापामा चार वर्षीया बालिका बलात्कृत

सोमबार, ०८ असोज २०७५, १९ : २४
झापामा चार वर्षीया बालिका बलात्कृत

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले अभियुक्त युवकलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । बालिका र युवकको घर सँगसँगै रहेकाले युवकको नाम खुलाउन नमिल्ने प्रवक्ता बस्नेतले बताउनुभयो । 

प्रहरीका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई साइकलमा राखेर युवकले घुमाउन लगेका थिए । नाताले मामा पर्ने युवकले घुमाउन लगेको मौका छोपी जलथलको जङ्गलमा बालिकालाई बलात्कार गरेका थिए । 

अपराह्न घर फर्किएकी बालिकाको योनीमा रगत देखेपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले आइतबार राति नै युवकलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । यसअघि गत साउन २० गते झापाकै अर्जुनधारा नगरपालिका वडा नं २ मा छिमेकी १५ वर्षीय युवकले चार वर्षीया बालिकालाई बलात्कार गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस