प्रस्तावित प्रधान न्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १२ : ५०
प्रस्तावित प्रधान न्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्र लेखा यादव माथि उजुरी आह्वान गरेको छ ।

समितिले सूचना जारी भएको १० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ । सूचना दिँदा सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने उल्लेख छ । यद्यपि, सूचनादाताले चाहेमा नाम गोप्य राखिने समेत सूचनामा उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमान सिंह राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । हालका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाशमा जाँदैछन् । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतले सुनुवाइ प्रक्रिया पूरा भएर प्रधान न्यायाधीश नियुक्त भए १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

साउन अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चित्र लेखा यादवलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

सरकारले यसअघि अस्ट्रेलियाका लागि कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, इजरायलको राजदूत हुँदा सहयोगीलाई स्वदेश नफर्काएको उजुरी परेपछि उनको ठाउँमा यादवलाई सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस