उपसभामुखविरुद्ध बोल्न लगाएर बेइज्जत गरेको गुनासो

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १४ : २४
उपसभामुखविरुद्ध बोल्न लगाएर बेइज्जत गरेको गुनासो

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रयास असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओली डिफेन्सिफ भएका छन् । ओलीले संसद्को रोस्टममा उभिएर ‘गलत कुराको प्रचार’ गरिएको बताएका थिए । तर‚ सत्तारूढ दलकै सांसदहरू भने उपसभामुखविरुद्ध बोल्न लगाएर सांसदको बेइज्जत गराएको बताउँछन् ।

सत्तारूढ दल नेपाली कांग्रेसको एक सांसदले गुनासो गर्दै भने‚ ‘हस्ताक्षर पनि सङ्कलन गराए । केही सांसदलाई सदनमा बोल्न लगाएर राजीनामा माग गरे । अन्तिममा उनीहरू ब्याक हटेपछि बेइज्जत सांसदहरूको भयो।’

सत्तारूढ दलहरूको बालुवाटारमा बैठक बसेर उपसभामुखलाई हटाउने सहमति गरेको थियो । संवैधानिक परिषद्‌मा  बहुमत जुटाउने र कांग्रेसको प्रतिनिधित्व गराउन लगायत कारण देखाएर उनलाई हटाउन खोजिएको थियो । तर‚ दुई तिहाइ नपुग्ने भएपछि प्रम ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपसभामुख हटाउने चलखेलबाट ब्याक हटेको ती सांसदले जानकारी दिए ।

‘जनमत‚ जसपा लगायत दलले ठुलै डिमान्ड गरेपछि तत्कालका लागि यो प्रकरण सेलायो भनेर ब्रिफिङ भयो‚’ अर्का एक सांसदले भने । एमाले र कांग्रेसले काठमाडौँ नछोड्न भन्दै सांसदहरूलाई ह्वीपनै जारी गरेको थियो । तर‚ सत्ता सहकार्यमा रहेका दलहरूले साथ नदिएपछि उपसभामुखलाई हटाउन दुई दल असफल भयो ।

उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सभामा ल्याएर हटाउने तयारी सत्तारूढ दुई दलको थियो । उपसभामुख रानाले पदीय मर्यादा विपरीत नेपालस्थित अमेरिकी दूतावासलाई अनधिकृत व्यक्तिहरूलाई अमेरिका लैजानका लागि अन्तरवार्ताको मिति मिलाइदिन पत्र लेखेको भन्दै हटाउने प्रयास भएको हो ।

जसमा रास्वपा र माओवादी तथा अन्य दलले प्रतिकार गर्दा कांग्रेस र एमाले सांसदहरूले राजीनामा मागेका थिए ।

प्रतिक्रिया दिनुहोस