एमालेको एकल बहुमत बिना देश बन्दैन : विष्णु पौडेल

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १९ : २६
एमालेको एकल बहुमत बिना देश बन्दैन : विष्णु पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताएका छन् । आज सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेशका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए । देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उनको भनाइ थियो । ‘‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा (एमाले) मात्र हो ।’’ नेता पौडेलले भने, ‘‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईँहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ ।’’

नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गरे । एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताए । मधेशका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिएको सुखी नेपाली, समृद्ध नेपाल देश र जनताको पक्षमा रहेको पुष्टि भएको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस