धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादपछि मुख्यमन्त्री सोडारी विश्वासको मत लिने तयारीमा लागेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन संसद्को बैठक पनि आह्वान गराएका थिए । तर नेकपा एमाले तत्काल विश्वासको मत दिन नसकिने भन्दै अडानमा बसेपछि बैठक स्थगित गरियो । त्यसको भोलिपल्ट २२ गते पुनः बैठक आह्वान गरियो र पुनः सल्लाह नगरी बैठक राखेको भन्दै एमाले रोकिदिएपछि संसद् बैठक नै अनिश्चित बन्यो । वैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले जेठ ५ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । जसअनुसार उनी जेठ ३ गते विश्वासको मत लिने तयारीमा जुटेका हुन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले शीर्ष तहबाट आएको निर्देशनअनुसार विश्वासको मत लिन लागिएको बताए । उनले भने, ‘शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाम्रो पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबिचको छलफलपछि प्रधानमन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिनुभएको हो । सोही अनुसार तयारी भइरहेको हो ।’ तर नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलको उपनेता सन्तोष कुमारी शर्मा थापाले जेठ ३ गते विश्वासको मत लिनेबारे आफूहरूबिच कुनै छलफल नभएको बताइन् ।
उपनेता शर्माले भनिन्, ‘अहिलेसम्म हामीलाई कुनै जानकारी आएको छैन । हामीसँग छलफल पनि भएको छैन । पहिला जे थियो, त्यही अवस्था हो ।’ सत्तारुढ घटक माओवादी केन्द्रले भने मुख्यमन्त्री सोडारीको चाँडै विश्वासको मत लिई मन्त्री मण्डल विस्तार गर्नुपर्नेमा जोड दिँदै आएको छ । माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कल रावलले बजेट अधिवेशन आह्वान गर्ने र प्रिबजेट छलफलको बेला भएको भन्दै विश्वासको मत र मन्त्रीमण्डल विस्तारको कार्य चाँडै टुङ्ग्याउनुपर्ने बताए । एकीकृत समाजवादीको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)पक्ष र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । तर उनको दाबी असंवैधानिक रहेको भन्दै नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)का लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ