सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

रासस

सोमबार, २१ माघ २०८१, ११ : ३९
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

निर्देशनालयका निमित्त निर्देशक डा खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताए । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ । उनले भने, “विद्यालयमा अध्ययनरत एक लाख ४५ हजार ८९४ किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका पाँच हजार ३७९ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको छ ।”

खोप लगाउनुपर्ने किशोरीमध्ये सबैभन्दा बढी कैलालीमा ५० हजार ६१३ र कञ्चनपुरमा २७ हजार ५०० किशोरी छन् । सबैभन्दा कम दार्चुलामा सात हजार २९१ किशोरी छन् । खोप अभियानका लागि प्रदेशभरि दुई हजार ८०० भन्दा बढी स्वास्थ्यकर्मी र करिब पाँच हजार स्वयंसेवी परिचालन गर्न लागिएको छ ।

अभियान सञ्चालनका लागि हरेक विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको र त्यहाँ छुटेकालाई स्वास्थ्य केन्द्रमार्फत पनि यो खोप दिन व्यवस्थापन गरिएको निमित्त निर्देशक बमले बताए । उनले भने, “नेपालमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तंथ्याक छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएकाले खोप लगाइसकेपछि पाठेघरको क्यान्सरको समस्या घट्ने विश्वास गरिएको छ ।”

 

प्रतिक्रिया दिनुहोस