डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १२ : ४५
डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै

बेइजिङ । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । अङ्ग्रेजी पत्रिका टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् ।

यसबारे औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले अफगानिस्तान र रोमानियाका लागि राजदूत भइसकेका शुई अब भारतका लागि चीनको राजदूत हुने समाचार एजेन्सी पीटीआईलाई पुष्टि गरेको छ ।

अङ्ग्रेजी पत्रिका द हिन्दूले पनि ६० वर्षीय शुईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने बताएको छ । उनले सन् २०२२ को अक्टोबरमा भारतमा आफ्नो कार्यकाल पूरा गरेका सन विडोङको स्थान लिनेछन्।

सुन वेइडोङ भारतमा आफ्नो कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत पनि थिए र हाल उप(विदेश मन्त्री छन् । उनी चीनको दक्षिण एसिया नीतिलाई सम्हाल्ने जिम्मेवारीमा छन्।