बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १८ : ५७
बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार दिउँसो बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो ।

गत कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्था अनुसार बैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख गरिए बमोजिम प्रदेश सरकारले अघि बढेको हो ।

प्रदेशका नागरिकहरुमा संस्कृति र पहिचानको अपनत्व महशुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसंख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरुमा लागु गर्ने उनले बताए । पहिलो चरणमा सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषाका उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ । मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस