रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १५ : ४५
रास्वपा बागमतीको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक छलफललाई प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ ।

क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय पचास हाराहारी नेता कार्यकर्ता सहभागी छन् । ‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब÷लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत समूहलमा छलफल भइरहेको छ । शुक्रबार आउने समूहगत छलफलको निश्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अच्युतम लामिछानेले जानकारी दिए ।

बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरेका छन् । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ । ‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ ।’ अन्य प्रदेशमा पनि ‘क्लोज क्याम्प’ गर्दै जाने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस