स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, २० : ५५
स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाटै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।दशरथ रंगशालामा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै पौडेलले गाउँ-गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ,’ राष्ट्रपति पौडेलले भने, ‘अतिरिक्त क्रियाकलाप खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन् ।’

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए । उनले भने, ‘विद्यार्थीको सर्वाङ्गीण विकासका लागि परिवार, समाज र सृजनात्मक सिकाइको आवश्यकता छ ।’

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार तथा आवश्यक प्रशिक्षणसहित खेलको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले अगाडि भने, ‘खेलाडीको भविष्य सुनिश्चित गर्न सबै तहका सरकारका साथै निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ ।’

 

प्रतिक्रिया दिनुहोस