म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ ।भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिरोले छियाछिया बनाएपछि स्थानीयबासी थात थलो छाडेर अन्यत्र हिँडेका हुन् ।
चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए ।'विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा बसोबास थियो', उनले भने, 'शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो ।'
वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिरोले १८ वटा घर भत्किएका छन् ।आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन् । आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौंलगायत ठाउँमा गएर बसेका हुन् । घर भए पनि बसोबास छैन । बर्खामा गोठमा गएर बस्ने गरेका छन् ।
गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए । यस वर्ष थप छवटा घर पुनःनिर्माण भइरहेको छ । गाउँपालिकाले पहिरोबाट घर भत्किएकालाई पुनःनिर्माणका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए।
'पहिरोले हजारौं रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ', उनले भने, 'रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो ।' यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ । हाल दलित समुदायको एउटा मात्र घर छ ।
भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो । गाउँको बीचमा पहिरोले ठाडो चिरा बनाएको छ । खेतबारी र जङ्गल चिराचिरा परेको छ । पहिरोले उठीबास लगाएपछि बसाइँसराइ गरेको चौरखानीका रेश विकले बताए । उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवा फाँटमा बसोबास गर्छन् ।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट शुरू भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए । बर्सेनि ग्याबियन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन ।पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक मन्दीको असर : म्याग्दीमा बढ्यो उद्योग व्यवसाय बन्द हुने दर
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध
पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, झरीले पहिरो पन्छाउन समस्या
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
म्याग्दीमा उन्मूलन भयो औलो