आर्थिक मन्दीको असर : म्याग्दीमा बढ्यो उद्योग व्यवसाय बन्द हुने दर

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, १५ : ११
आर्थिक मन्दीको असर : म्याग्दीमा बढ्यो उद्योग व्यवसाय बन्द हुने दर

म्याग्दी। म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ ।आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्यवसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।

आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फर्म खारेज भएका हुन् ।

आव २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए । सो अवधिमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए ।

आव २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरू विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए ।

'व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिड पछिको आर्थिक मन्दीको असरका रुपमा लिएका छौं,' उनले भने, 'वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्नेहरू पनि छन् ।'

जिल्लामा फेन्सी, हार्डवेयर र होटल तथा रेस्टुरेन्टको व्यापार घटे पनि सटरनै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ ।उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरू पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।