काठमाडौं। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ ।
वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरुले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि आज प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
सुक्खा फोहोर खरिदका लागि प्राप्त प्रस्तावहरु आगामी वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरुको रोहवरमा खोलिने जनाएको छ ।
महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा सङ्कलन हुने सुक्खा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ । यसैगरी उक्त विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीहरुलाई सुक्खा फोहोर भन्ने गरिएको विभागका प्रमुख नविनमान श्रेष्ठले बताए । उनले भने, 'नेपालमै यो सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरिएको पहिलो पटक भएकाले यो सुरुवाती हो, कति आम्दानी हुन्छ अहिले जानकारी भएन । आम्दानीअनुसार उक्त रकम वातावरणको क्षेत्रमा लगानी गरिने छ ।'
काठमाडौंमा प्रतिदिन सात सय टन फोहोर सङ्कलन हुने गरेको र टेकुमा मात्रै प्रतिदिन दुई सय टन फोहोर आइरहेकाले कति टन सुक्खा फोहर जम्मा हुन्छ त्यो विषयमा अहिले नै भन्न सकिने अवस्थामा नरहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी