काठमाडौँ । गत साउनदेखि काठमाडौँ महानगरपालिका (कामपा) ले सजावट वा अन्य प्रयोजनका लागि प्लास्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ ।
केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो । महानगरले विसं २०८० साउन १ गतेदेखि ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।
“सहरको व्यवस्थापन, स्वच्छता र वातावरणीय सुधारका लागि कामपाले तर्जुमा गरेका कानुनी व्यवस्थाको कार्यान्वयन गराउनु हाम्रो दायित्व हो ।व्यवस्थापन गर्नुपर्ने क्षेत्रको सूक्ष्म निगरानी गरिरहेका छौँ”, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने । यस प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले अनुरोधलाई अटेर गरेर प्लास्टिकका फूलको प्रयोग गरेको भेटिए कारबाही गरिने बताए ।
प्लास्टिकजन्य वस्तुका कारण सृजित फोहर घटाउन तथा वातावरणलाई स्वच्छ बनाउने उद्देश्यले महानगरले प्लास्टिकका फूलसँगै ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउँदै आएको नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डेले जानकारी दिए ।
“सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग गरिँदैनन् । यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ वा फोहरको पोको बनाएर बाहिर निकालिन्छ । यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले वातावरणमा नकारात्मक असर गर्दछ”, पाण्डेले भने ।
स्रोतबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाइने
कामपाले फोहोरको स्रातेबाटै वर्गीकरण गरी कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । ३२ वडा रहेको कामपाले वडा नं २७ बाट सङ्कलन गरिएका करिब १४ हजार किलोग्राम जैविक फोहर टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको कामपा वातावरण विभागले जनाएको छ ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएका फोहरलाई छुट्टै सङ्कलन र व्यवस्थापन गरिदैँ आइएको विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी वडा नं २७ बाट गरिएको हो । आगामी दिनमा सबै वडाबाट यस कार्यलाई निरन्तरता दिन तयारी भइरहेको कामपाले जनाएको छ ।
वडा नं २७ को फोहोर वर्गीकरण गरेर गत माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको विभागका प्रमुख श्रेष्ठले बताए । उनले सङ्कलन भएको फोहोरलाई पाइल (सङ्कलन गरिएका फोहोरका थुप्रो) गर्न थालिएको भन्दै अहिलेसम्ममा चारवटा पाइल तयार भइसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी