कास्की। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उनको भनाइ थियो ।नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताए।
सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गरे ।अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरूले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उनले बताए ।
'सत्तामा बसेका शक्तिले ठीक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ', उनले भने ।
नेपालको कम्युनिस्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उनको भनाइ थियो । उनले सही कार्यदिशा भएका खण्डमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने उल्लेख गरे ।
'दश लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ ।
कम्युनिस्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो', खनालले भने ।समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उनले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्दा सरकारले ध्यान पुर्याउन सकेन : झलनाथ खनाल
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान
समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल
वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल
एमालेले दलाल पुँजीवादसँग अँगालो मार्यो: झलनाथ खनाल