वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १३ : ४४
वैचारिक र सैद्धान्तिक रूपमा सहमत भए माओवादीसँग एकता हुनसक्छ : नेता खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन्। आइतबार कुरा गर्दै उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत भए एकता हुन सक्ने बताएका हुन् ।

तर त्यसमा तत्काल सहमत हुन सम्भावना नदेखिएको उनको भनाइ छ । यद्यपि माओवादीसहित सबै वामपन्थीहरूसँग कार्यगत एकता हुने खनालले जिकिर गरे।‘माओवादीसँग पार्टी एकता तत्काल देख्दिन । कार्यगत एकता सम्भव भएसम्म वामपन्थीहरूसँग हुन्छ । सम्भव हुन्छ र मान्छन् भने ओलीलाई पनि मनाउँछौँ ।

दलाल पुँजीवादको पछाडि नलाग्न भन्छौँ  । अन्य वामपन्थीहरूलाई एकताबद्ध गर्छौँ नै’, खनालले भने, ‘राजनीतिक, वैचारिक, कार्यदिशा, कार्यक्रम मिल्छ भने माओवादीसँग एकता गर्न कुनै आपत्ति छैन । यी कुरा नमिलेसम्म हामी एकता गर्दैनौँ ।’हिजो एमाले र माओवादीबिच फगत सत्ताको लागि मात्र एकता भएकाले दीघो नभएको उनको टिप्पणी छ । नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणमा प्रवेश गरेकाले प्रधान अन्तर्विरोध र प्रधानसत्रु छुट्याउनुपर्ने उनको  तर्क छ ।

‘एमाले र माओवादीबिच एकता हुँदा त्यो फगत सत्ताका लागि भयो । अहिले सत्ताका लागि मात्र एकता गर्दैनौँ । नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणमा प्रवेश गरेको छ । नेपाली समाजमा प्रधान अन्तर्विरोध के हो ? प्रधानसत्रु के हो ? त्यसविरुद्ध जाने भन्ने विषयमा सहमत हुनुपर्छ ।

मार्क्सवाद, लेनिनवाद हाम्रो मार्गदर्शक सिद्धान्त हुनुपर्छ’, उनले भने ।अहिलेको प्रधानसत्रु दलाल तथा पुँजीवादको मुख्य नाइके कांग्रेस भएको भन्दै उनले पुँजीवादसँग लडाइँ लड्न सबै वामपन्थीबिच एकता हुनुपर्ने बताए ।  

‘अहिलेको प्रधानसत्रु कांग्रेस हो । दलालवादको मुख्य नाइके पुँजीवाद हो । श्रमिक वर्गको लडाइँ पुँजीवादसँगको अन्तिम लडाइँ हो । त्यसपछि कसैसँग लड्नु पर्दैन’, खनालले भने, ‘पुँजीवादीले पनि सम्पूर्ण शक्ति प्रयोग गरेको छ । हामीले पनि परास्त गर्न सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्छ । त्यस कारण यो लडाइँ जटिल र गम्भीर हुनेछ । हर प्रकारले ऐतिहासिक विजय हुनेछ ।’

साथै उनले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद(जबज) काम नलाग्ने सिद्धान्तलाई एमालेले मार्गदर्शक सिद्धान्त मानेर केपी ओलीले तीन लाख सदस्यलाई ठगिरहेको आरोप लगाए । जबजको दास बनेर ठगिएका कार्यकर्ता देखेर आफूलाई अचम्म लागेको उनको भनाइ थियो ।