समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १४ : ४९
समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् : नेता खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको बताएका छन् । पार्टीको पूर्ण कमिटीको बैठकमा बोल्दै उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित भएको दाबी गरेका हुन् ।

उनले भने, ‘विश्व परिस्थिति सङ्गिन ढङ्ग बढिरहेको छ । साम्राज्यवादी शक्तिहरू आतङ्कित भएका छन् । समाजवादी शक्ति जति शक्तिशाली हुँदै जान्छन्, त्यस्ता शक्तिहरू त्यति नै डराउँछन् ।’ ‘त्यही भएर उनीहरूले युक्रेन युद्धको सुरुवात गरे ।

युक्रेनमा रुसले आक्रमण गरेकोभन्दा पनि युक्रेनलाई प्रयोग गरेर साम्राज्यवादीहरूले रुसकाविरुद्ध षडयन्त्र सुरु गरे । रुसलाई त्यहाँ सैनिक कारबाही गर्न बाध्य बनाइयो,’ खनालले भने, ‘युक्रेनलाई युद्ध मैदान बनाए । यो युद्ध एक कदम अगाडि बढ्यो भनेर विश्वयुद्ध सुरु हुन्छ भन्ने त्राससमेत फैलिन थालेको छ । यता मध्यपूर्वमा पनि युद्ध चर्केको छ ।

विद्रोह गरेर यो पार्टी स्थापना गरेको ३ वर्ष पुगेर चौथो वर्षमा प्रवेश गरेको उनले जानकारी दिए । उनले तीन वर्ष सजिला वर्षहरू नरहेको पनि जिकिर गरे । उनले भने, ‘उतारचढावहरूका साथमा यो पार्टीलाई गठन गर्ने, विकास गर्ने तथा विस्तार गर्ने र पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपमा अघि बढाउन काममा हामी निरन्तर लाग्दै आयौँ ।

खनालले पार्टीबारे अनेक प्रकारका वैचारिक आक्रमण भइरहे पनि तथा प्रतिक्रियावादीहरूका अनेक षडयन्त्रहरू भए पनि ती सबै कुराहरूलाई चिर्दै, तिनीहरूको प्रतिकार गर्दै पार्टी लगातार अघि बढ्दै आइरहेको जिकिर गरे । १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु भनेको पार्टीको ऐतिहासिक सफलता भएको उनको भनाई थियो । 

‘महाधिवेशनका नीतिहरू र सिद्धान्तहरूलाई पनि हामीले संस्थागत गरेका छौँ । यो नेतृत्व पनि संस्थागत भएको छ । अब ऐतिहासिक अभिभारहरू पूरा गर्नुपर्नेछ,’ उनले भने।