ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुने पक्का

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०७५, १३ : ०२
ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुने पक्का

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले  नाम अनुमोदन गरेपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुने पक्का भएको छ । समितिको सोमबार बसेको बैठकले मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको  हो ।

समितिका सदस्य सुरेन्द्र पाण्डेले बैठकले मिश्रको नाम अनुमोदन गरेको जानकारी दिए । नाम अनुमोदन भएसँगै मिश्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । समितिको बैठकमा उपस्थित भएर मिश्रले आफूविरुद्ध परेका तीन उजुरीबारे जवाफ दिएका थिए ।  बैठकमा समितिका संयोजक लक्ष्मणलाल कर्णले उजुरीबारे जवाफ माग गरेका थिए ।

संवैधानिक परिषद्को भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको थियो । वरिष्ठतम न्यायाधीश दिपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।

उनीविरुद्ध  त्रिवि सेवा आयोगले परीक्षा लिएको कपी झिकाउने आदेश दिएको तर निरन्तर पेशी तोकेपनि फैसला भने नगरेको उजुरी परेको थियो । त्यस्तै काठमाडौ जिल्ला अदालतमा मुख्य न्यायाधीश हुँदा बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा पीडितले मुद्दा जित्दा पनि क्षतिपूर्ति नदिलाएको भन्ने उजुरी समेत  परेको  थियो । तेस्रो उजुरीमा मिश्र विराटनगरमा न्यायाधीश भएको बेला परेको अंश मुद्दामा श्रीमतिलाई सेविका बनाएर फैसला गरीएको बारे  थियो ।

मिश्रले उजुरीको जवाफ दिने क्रममा आफूले अहिलेसम्म १७ हजार मुद्दा फैसला गरेको बताएका छन् । १७ हजार मुद्दा फछ्र्योट गरेको छु, ति फैसलाका क्रममा कुनै लज्जित हुने काम गरेको छैन । बढी समय म काठमाडौँमा बसेको छु,’ मिश्रले जवाफ दिने क्रममा भने, ‘विराटनगर मुद्दाका बारेमा कुनै सम्झना छैन । ०५५ र ५६ सालमा म त्यहाँ बसेको थिएँ तर मलाई अरु सम्झना छैन । जहाँसम्म लाग्छ न्यायबमोजिम काम गरेको छु होला ।’

त्यस्तै काठमाडौँमा बैदेशिक रोजगारी सम्बन्धी परेको उजुरीको जवाफ दिँदै मिश्रले २०६१ बैशाख २ गतेको उक्त फैसला अरु नै न्यायाधीशले गरेको बताएका छन् । सो मुद्दामा १० लाख ५ हजार पीडितले पाउने फैसला अर्कैले गरेको तर आफुले सदर गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस