काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा मुगुका छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारू, इन्जिनियर, वडाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । नगरपालिकाको वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर अख्तियारको छ ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सारू, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव-इन्जिनियर हस्त बहादुर मल्लले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गर्नुपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी २८ लाख, ६२ हजार, ४५९ रुपैयाँ बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुरमा अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी बिगो कायम गरिएको छ । यसै गरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही इन्जिनियर कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा वडा नम्बर ८ का वडाध्यक्ष कर्ण रावल र वडा नम्बर ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रिपरिषद् निर्णयमा अख्तियारको प्रवेशबारे आन्तरिक छलफलमा जुट्यो एमाले
प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर