हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेको नागरिक दोस्रो दर्जाको नागरिकको रूपमा हेर्न नहुने बताएका छन् । बुधवार हेटौँडामा आयोजित स्वास्थ्य बिमा बोर्ड बागमतीको प्रदेश स्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले बिमा गरेका नागरिकहरूले तत्काल उपचार सेवा पाउने व्यवस्था गर्नुपर्ने बताए ।
अहिले बिमालाई सफल बनाउने नियतले काम नभएको भन्दै उनले सबै पक्षको सकारात्मक पहलबाट सुधार गर्नुपर्ने बताए । बिमाले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सहज बनाउनुपर्नेमा हाल बिरामीलाई थप सास्ती भइरहेको उनले बताए । स्वास्थ्य बिमालाई सफल बनाउने नियतले सेवा प्रवाहमा सहजता प्रदान गर्ने गरी काम गर्न उनले निर्देशन दिए ।
‘बिमा गरेका नागरिकलाई दोस्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरिन्छ । उनीहरू दोस्रो दर्जाका नागरिक होइनन् । बिमा गरेका नागरिकले सबैभन्दा पहिले र सहज सेवा पाउनुपर्ने होइन र ? हाम्रो अस्पताल र कर्मचारी तथा सिस्टमले किन सेवा सहज बनाउन सकेन ?’ उनले भने, ‘बिमा गरेका नागरिकहरूले स्वास्थ्य उपचारका सबै सेवा अस्पतालको बेडमा नै पाउने गरी व्यवस्था गर्नुपर्छ । बिमा गरेका नागरिकहरूलाई यता उता भन्दै कुराउने र हिँडाउने काम उचित हुँदैन । बिमा गरेका नागरिकले २४ घण्टा सेवा किन नपाउने ? राज्यलाई अग्रिम पैसा तिरेर नागरिकले सेवा खरिद गरेका हुन् । उनीहरूलाई पनि त्यही अनुसारले सेवा दिनुपर्छ । नगद आउँछ भनेर बिमा गरेका नागरिकलाई पछि राख्ने र कुराउने प्रवृत्ति गलत छ ।’
अस्पतालले बिमाका बिरामीलाई पहिलो प्राथमिकतामा सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ । स्वास्थ्य बिमा बोर्डले आवश्यक विषयहरूमा सुधार गरेर बिमा गरेका नागरिकहरूले तत्काल सबै प्रकारका सेवा पाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
बिमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । मन्त्री जोशीले बिमामा प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रूपमा औषधी पाउने व्यवस्था गर्नुपर्ने बताए । बिमासहित नागरिकहरूको स्वास्थ्य सेवामा सन्तुलन कायम गरी नागरिकलाई सन्तुष्ट पार्ने गरी काम गर्न उनले निर्देशन दिए ।
‘बिमामा भएका समस्या हल गर्न नीतिगत सुधार गरेर प्रभावकारी रूपमा कार्यक्रम अघि बढाउनुपर्छ । राज्यको तल्लो तहका स्वास्थ्य संस्थाबाट समेत सेवा पाउने व्यवस्था गर्नुपर्छ । तिनै तहका स्वास्थ्यका संरचना र स्वास्थ्य चौकीहरूसँग जोडिएर काम गर्दा उपयुक्त हुन्छ । बिमालाई नागरिकहरूसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नु उपयुक्त देखिन्छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त