हेटौँडा । बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत अनुसन्धान वृत्तिको लागि दोस्रो पटक प्रस्ताव आव्हान गरेको छ । मन्त्रालयले स्वीकृत अनुसन्धान तथा विकास कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड, २०८१ (प्रथम संशोधन) अनुरूप यस वर्षका लागि छनोट भएका ३० शोधपत्र विषय सार्वजनिक गरिसकेको छ ।
पहिलो पटक प्रकाशित सूचनाको म्यादभित्र प्राप्त शोधपत्र प्रस्तावहरूलाई कायम राखी, थप आवेदनका लागि १० दिने पुनः सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत छनोट भएका शोधपत्र प्रस्तावको सूची मन्त्रालयले पुनः प्रकाशित गर्नेछ । सूची प्रकाशित भएको मितिबाट दुई महिनाभित्र विद्यार्थीहरूले आफ्नो अनुसन्धान प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्नेछ । प्राप्त शोधपत्रहरूमध्ये उत्कृष्ट १० लाई छनोट गरी प्रति शोधपत्र एक लाख रुपैयाँको अनुसन्धान वृत्ति प्रदान गरिने छ ।
अनुसन्धान वृत्तिको लागि विस्तृत जानकारी बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आधिकारिक वेबसाइट एमओआईसीएलए डट बागमती डट जीओभी डट एनपी मा उपलब्ध रहेको छ ।
बागमती प्रदेशको औद्योगिक विकासका लागि अनुसन्धानको प्रवर्द्धन
बागमती प्रदेश सरकारको यो कार्यक्रम औद्योगिक नीति सुधार, लगानी प्रवर्द्धन, लघु तथा मझौला उद्यम नीति, नवप्रवर्तन, वित्तीय पहुँच, हरित ऊर्जा प्रवर्द्धन लगायतका क्षेत्रका अनुसन्धानलाई लक्षित गर्दै अघि बढाइएको मन्त्रालयकी प्रवक्ता सुनिता गजुरेलले बताइन् । यसबाट प्रदेशको औद्योगिक विकास र आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।
अनुसन्धानका प्रमुख विषयहरू
बागमती प्रदेश सरकारले औद्योगिक नीति सुधार, लगानी अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन, हरित ऊर्जा तथा नवप्रवर्तनलाई लक्षित गर्दै ३० वटा प्रमुख अनुसन्धानका विषयहरू सार्वजनिक गरेको छ ।
जसमा बागमती प्रदेशको औद्योगिक नीतिको मूल्यांकन: राष्ट्रिय नीति र व्यवहारिक कार्यान्वयनबीचको अन्तर, बागमती प्रदेशको औद्योगिक उद्यमी ऐनको प्रभावकारिताको मूल्याङ्कन, प्रदेश स्वायत्तताले बागमती प्रदेशको औद्योगिक नीतिमा पारेको प्रभाव, बागमती प्रदेशमा साना तथा मझौला उद्यम नीति सुधार: चुनौतीहरू र सम्भावना, बागमती प्रदेशको व्यापार नीतिको आवश्यकता: प्रदेश औद्योगिक वृद्धिमा प्रभाव, बागमती प्रदेशमा औद्योगिक ग्रामको भूमिका: उत्पादन उद्योग प्रवर्द्धनमा प्रभाव, बागमती प्रदेशका घरेलु तथा साना उद्योगहरूको वृद्धि र प्रतिस्पर्धात्मकता र बागमती प्रदेशमा औद्योगिक पूर्वाधार विकास र यसको प्रभाव रहेका छन् ।
यसैगरी बागमती प्रदेशमा औद्योगिक स्थापनाका लागि प्रशासनिक तथा नियामकीय अवरोधहरू, बागमती प्रदेशमा साना तथा मझौला उद्यमका लागि वित्तीय पहुँच, बागमती प्रदेशको औद्योगिक वृद्धिमा नवप्रवर्तन र स्टार्टअपहरूको भूमिका, बागमती प्रदेशमा कृषि आधारित उद्योगहरूको सम्भावना: नीति र चुनौतीहरू, बागमती प्रदेशमा लगानी बोर्डको अनुपस्थितिले औद्योगिक लगानीमा पारेको प्रभाव र बागमती प्रदेशमा औद्योगिक विकासका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन रहेका छन् ।
त्यस्तै अन्य विषयहरूमा प्रदेश सरकारको औद्योगिक अनुदान नीति: कार्यान्वयनका चुनौतीहरू, बागमती प्रदेशमा लगानी प्रवर्द्धनका लागि अपनाइएका नीतिहरूको समीक्षा, बागमती प्रदेशका औद्योगिक क्षेत्रहरूको विकास र औद्योगिक उत्पादनमा यसको प्रभाव, बागमती प्रदेशमा औद्योगीकरणको वर्तमान अवस्था र भविष्यको सम्भाव्यता, स्थानीय तह र प्रदेश सरकारबीचको सहकार्य: औद्योगिक विकासमा प्रभाव, बागमती प्रदेशको औद्योगिक क्षेत्रमा महिला उद्यमशीलताको अवस्था र चुनौतीहरू, बागमती प्रदेशमा स्वरोजगार प्रवर्द्धनका सरकारी प्रयासहरूको प्रभाव, बागमती प्रदेशमा सार्वजनिक–निजी साझेदारीको भूमिका र प्रभावकारिता, बागमती प्रदेशमा स्वदेशी तथा आयातित वस्तुहरूको व्यापार संरचना र प्रतिस्पर्धा, बागमती प्रदेशमा खुद्रा व्यापारको विकास र चुनौतीहरू रहेका छन् ।
साथै बागमती प्रदेशमा डिजिटल कारोबार र यसको व्यापार प्रणालीमा प्रभाव, बागमती प्रदेशमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि प्रदेश सरकारले अपनाएको नीति, बागमती प्रदेशमा वस्तु तथा सेवा कारोबारको प्रवृत्ति र समस्या, बागमती प्रदेशमा व्यापार मेलाहरूको आयोजना र स्थानीय उत्पादन प्रवर्द्धनमा प्रभाव, बागमती प्रदेशमा बजारमा उपभोक्ता ठगीका घटनाहरू: कारण र नियन्त्रण उपायहरू र बागमती प्रदेशमा अनलाइन खरिदमा उपभोक्ताको अधिकार विषयहरू रहेका छन् ।
शोधपत्र दर्ता प्रक्रिया र थप जानकारी
अनुसन्धान वृत्तिमा सहभागी हुन चाहने विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले मन्त्रालयको वेबसाइटमा गई विस्तृत जानकारी लिन सक्नेछन् । साथै, मन्त्रालयका सम्बन्धित कार्यालयहरूबाट आवश्यक जानकारी तथा मार्गदर्शन प्राप्त गर्न सकिनेछ ।
बागमती प्रदेश सरकारद्वारा प्रवर्धित अनुसन्धान वृत्तिले औद्योगिक नीति सुधार, लगानी आकर्षण, उत्पादनशीलता वृद्धि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै प्रदेशको समग्र आर्थिक तथा औद्योगिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।
हेर्नुहोस् सूचना
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त