झापा। झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।
कात्तिक पहिलो हप्तादेखि शुरू भएको पर्यटकको चलपहल हाल खचाखच हुने गरेको उनले बताए । उनका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् ।
‘बिदा र शनिवारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्’, उनले भने, ‘यसबाट आउने शुल्कसमेत राम्रै सङ्कलन हुने गरेको छ।’पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ ।
यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उनको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।
वनभोज खान आउनेबाट रू पाँच सयदेखि तीन हजारसम्म शुल्क लिने गरेको उनले बताए । दोमुखा पर्यटकीय क्षेत्रमा बालउद्यान र बहुजातीय सङ्ग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको उनले जानकारी दिए ।
अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौं नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन हुने गरेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधासम्पन्न होटल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रंगीविरंगी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा