पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयन गर्न संविधान निर्माताहरूमा नै इमानदारिता नभएको बताएका छन् । ‘सङ्घीयता त ल्यायौँ । सङ्घीय व्यवस्था भन्यौँ । तर इमानदारिता देख्दिनँ ।
सङ्घ सरकारमा बस्नेसँग यसको इमानदारिता छैन,’ उनले भने, ‘सङ्घीयता ल्याउनका लागि वर्तमान प्रधानमन्त्री लड्ने पहिलो व्यक्ति हो । तर अहिले आउँदा त्यसप्रति इमानदारिता छैन । उहाँसँग सकारात्मक दृष्टिकोण छ, तर रिजल्ट पाएका छैनौँ ।’ उनले संविधानमा लेखेका कारणले मात्रै सङ्घीयतालाई मानिरहेको जस्तो देखिएको बताए ।
‘कानुन बनाउने जिम्मा सरकारको मात्रै होइन, संसद्को हो । व्यवस्थाको बारेमा प्रश्न हो भने छलफल गर्नुस् । औचित्य होइन भने संसदमा छलफल गर्नुस्,’ प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उनले भने, ‘यस्तो किसिमको पेण्डुलम बनाएर राख्ने हो भने लक्ष्य प्राप्त गर्न सकिँदैन ।
’ नीति तथा योजना आयोगले गोरखामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना निर्माणको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना निर्माण जनमुखी र धरातल छोइने खालको बन्न नसकेको बताए ।
‘मुस्किलले ५ वर्षमा २ खर्वको बजेट बनाइन्छ होला । तर पञ्चवर्षीय योजनामा रेल चलाउने लक्ष्य राख्छौँ । १ किलोमिटर रेल चलाउनै १ अर्ब भन्दा बढी खर्च हुन्छ । म अब रेल चलाउँछु भनेर मात्रै रेल चल्छ ?,’ पाण्डेले थपे, ‘सपना देख्नु राम्रो हो । तर मेरै पालामा पूरा नहुने सपना देखेर कुनै काम छैन । हाम्रो क्षमता छैन भने त्यस्ता लक्ष्य राखेर अर्थ रहँदैन ।’ उनले केही उत्पादनहरूलाई जोड दिएर निर्यात गर्न सक्ने अवस्थामा पुग्नुपर्ने बताए । उनले आवश्यकताका आधारमा मात्रै योजना छनोट र विकास मोडल तयार गर्नुपर्ने सुझाव दिए ।
‘विद्यालयका भवनहरू रिसोर्ट र भाइवस्टार होटलजस्तो छ । तर पढ्ने विद्यार्थी कति छन् ? लगानी करोडौं गरेका छौँ, लगानीको प्रतिफल आयो कि आएन ? बाटो करोडौं खर्च गरेर गाउँ गाउँमा लगिएको छ, बस्ती किन रित्तिँदै छ ? घरघरमा बाटो लगेर विकास हुन्छ ?,’ उनले प्रश्न गरे, ‘हाम्रो विकास अति खर्चिलो भएको छ । विगतमा कसरी योजना बन्थ्यो र उपलब्धि के भयो भन्ने प्रस्टै छ । पोखरामा बसेर विज्ञहरू बोलाएर गरिने सेमिनारबाट बनेका योजनाले धरातल छुँदैन । हामी जिल्ला तहबाटै सुझाव लिएर योजना निर्माण गर्छौँ ।’
पाण्डेले बसाइसराइ अहिलेको प्रमुख समस्या देखेका छन् । ‘बसाइसराइ अहिलेको सबैभन्दा ठुलो चुनौती बनेको छ । संसारमै बसाइसराइ रोकिने होइन । जतिसुकै विकसित मुलुकमा पनि बसाइसराइ त हुन्छ । तर हाम्रो समस्या चाहिँ फरक छ,’ उनले अघि भने, ‘आगामी १० वर्षपछि गाउँमा कुनै पनि बस्ती नहुने हो कि भन्ने डरलाग्दो अवस्था छ । गाउँघरमा नै स्वरोजगार सिर्जना गर्न हामी चिन्तित छौँ ।’ प्रदेशलाई आवश्यक पर्ने स्रोत प्रदेशमै खोज्ने उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान थालेका छौँ : मुख्यमन्त्री पाण्डे
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे
प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैनः मुख्यमन्त्री पाण्डे
सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे
गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने