काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले बुधबार खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि चुमेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एकसय तीन रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि ओपनर रुविना क्षेत्रीले अर्धसतकीय पाली खेलिन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले टोलीका लागि ६२ रनको योगदान गरिन् । टोलीकी कप्तानसमेत रहेकी अनुभवी खेलाडी रुविनाले केवल ५८ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काइन् ।
कप्तान रुविना अन्तिम ओभरको पहिलो बलमा आउट भएकी थिइन् । करुणा भण्डारीको बलमा उनी स्टम्पिङ हुन पुगिन् । महत्वपूर्ण क्षणमा रुविना आउट हुनु नै विजयलक्ष्य नजिक पुगिसकेको कोशी प्रदेशका लागि दूर्भाग्य बन्न पुग्यो । अर्की ओपनर अप्सरी बेगम भने आठ रन बनाउँदै पेभेलियन फर्किइन् । उनी रनआउट भएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी काजल श्रेष्ठले पनि टोलीको खातामा २२ रन थपिन् । उनले २९ बलको सामना गरी एक चौका पनि हिर्काइन् ।
केवल १९ रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको कोशीको स्कोरलाई त्यसपछि रुविना र काजलले ७९ रन रनको स्थितिसम्म पु¥याएका थिए । लकिता राजवंशीले ६ रन बनाइन् । कोशी प्रदेशले अतिरिक्त रुपमा तीन रन पाएको थियो । एपीएफ क्लबकी बलर सीता रानामगर र करुणा भण्डारीले एक–एक विकेट लिए ।
त्यसअघि एपीएफ क्लबका लागि इन्दू बर्माले अर्धसतकीय पाली खेलेकी थिइन् । उनले टोलीका लागि ५३ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दूले केवल ४७ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएकी थिइन् ।
ओपनर ज्योति पाण्डेले पनि टोलीका लागि २७ रनको योगदान गरेकी थिइन् । उनले ३० बलमा तीन चौका पनि हिर्काइन् । कप्तानसमेत रहेकी ओपनर सीता रानामगर भने आठ बलमा एक रन बनाउँदै पेभेलियन फर्किइन् । चौथो नम्बरकी ब्याटर रोमा थापाले १५ बलको सामना गरी टोलीको खातामा १४ रन थपेकी थिइन् । ममता चौधरीले तीन रन बनाइन् । सरिता मगर नौ रनमा अविजित रहिन् । करुणा भण्डारीले अविजित दुई रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पाँच रनमात्र पाएको थियो ।
कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । उनले चार ओभरमा २१ रन खर्चिइन् । एलिसा खडियाले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा १५ रन खर्चिएकी थिइन् । रुविना क्षेत्री र निशा शाहले पनि एक–एक विकेट हात पारे ।
अप्सरी बेगमले ह्याट्रिक विकेट लिएकी थिइन् । अप्सरीले २०औँ ओभरको पहिलो बलमा एपीएफ क्लबकी अनुभवी ब्याट्र इन्दू बर्मालाई पेभेलियन फर्काइन् । उनले इन्दूलाई नमिता श्रेष्ठद्वारा क्याच गराएकी थिइन् । क्रिजमा जमिसकेकी इन्दू ५३ रन बनाउँदै आउट भएकी हुन् ।
त्यसपछि अप्सरीले २०औँ ओभरको दोस्रो बलमा एपीएफकी अर्की अनुभवी खेलाडी नेरी थापाको विकेट लिइन् । उनले नेरीलाई खाता खोल्नुअघि नै विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ गराएकी थिइन् । अप्सरीले २०औँ ओभरको तेस्रो बलमा सोनु खड्कालाई आउट गराइन् । उनले सोनुलाई पनि खाता खोल्नुअघि नै बोल्ड गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कप क्रिकेट : अपराजित पुलिस र आर्मीबिच आज उपाधि भिडन्त
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिममाथि एपीएफको जीत
प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने