प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरू

सफल खबर संवाददाता

आइतबार, २५ फागुन २०८१, १० : ५१
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरू

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले यो प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको हो ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । 

 

 

 

 

 

‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।

खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । 

 

 

 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ । देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस