हरेक दिन गठबन्धन भत्काउने र सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, २५ मंसिर २०८०, १६ : ०३
हरेक दिन गठबन्धन भत्काउने र सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले हरेक दिन सत्ता गठबन्धन तोडेर सरकार ढाल्ने प्रयास भएको दाबी गरेका छन् ।प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने खेल भइरहेको आरोप लगाएका हुन् । 

 

‘एकथरीले अहिले रातदिन लागेर विभिन्न किसिमले गठबन्धन तोड्ने र सरकार ढाल्ने अनि बनाउने जस्ता कसरत गरिरहेका छन्’ प्रचण्डले भने, ‘तर मान्छेहरू लाग्दैमा केही हुनेवाला छैन । हाम्रा नियमितका बैठक र आपसी विश्वासले यो गठबन्धन पूरा अवधि नै जान्छ ।’

 

यद्यपि सरकारलाई प्रभावकारी बनाएर सञ्चालन गर्न सबै प्रयत्न लगाउने उनले बताए ।साथै एक वर्षको समीक्षा गरेर अर्को वर्षको लागि सरकारको नयाँ रणनीति बनाउने उनले बताए । 

सरकारले शान्ति प्रक्रिया टुंग्याउन खोजेको, सुशासनको लागि एकपछि अर्को काम गर्दै गर्दा विरोधी आत्तिएको पनि उनले बताए । संविधान, लोकतन्त्र र नागरिकको रक्षाको लागि दृढताको साथ अगाडि बढ्ने उनको भनाइ छ । विरोधीले गर्ने झुटो प्रचारको प्रतिवाद गर्न उनले पार्टी निकटका पत्रकारलाई निर्देशन पनि दिए ।