सत्ता समीकरण फेरिने भएपछि सानेपा पुगेर प्रचण्डले गरे कोइरालाको प्रशंसा

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, १४ : ३६
सत्ता समीकरण फेरिने भएपछि सानेपा पुगेर प्रचण्डले गरे कोइरालाको प्रशंसा

काठमाडौं। कांग्रेस र एमालेबीच सत्ता समीकरणमा सहमति जुटे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस मुख्यालय सानेपा पुगेका छन् ।पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा भएको फोटो प्रदर्शनीको अवलोकनको लागि प्रचण्ड सानेपा पुगेका हुन् ।

प्रदर्शनी अवलोकन गरेपछि प्रचण्डले कुनै राजनीतिक वक्तव्य दिएनन् । बरु शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको अतुलनीय भूमिका रहेको भन्दै प्रशंसा गरे । ‘गिरिजाप्रसाद कोइरालासँग ५६/५७ सालमा पहिलो कुराकानी भएको प्रसंग सुनाउनुभयो । शान्ति प्रक्रियामा नजिकबाट काम गरेको पनि बताउनुभयो । गिरिजाबाबु नभएको भए को कहाँ पुग्ने थिएन पनि टुंगो नभएको भन्दै उहाँले गिरिजाबाबुको प्रशंसा गर्नुभयो । तर राजनीतिक वक्तव्य दिनुभएन,’ प्रदर्शनी स्थलमा रहेका कांग्रेस नेता दीपक गिरीले भने ।

 गएराति मात्रै प्रचण्डलाई विस्थापित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने सहमति भएको छ । प्रचण्ड फर्किएपछि ओली फोटो प्रदर्शनी अवलोकन गर्न पुगेका थिए ।उनले ‘प्रचण्ड फर्किनुसक्नु भयो ?’ भनेर सामान्य प्रश्न मात्रै गरे ।