देशमा केही भएको छैन, सबै नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी :  प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, १६ : २८
देशमा केही भएको छैन, सबै नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै पार्टी र नेता खत्तम भन्ने भाष्य प्रतिगमनकारी भएको आरोप लगाएका छन् ।एकथरी प्रवृत्तिले देशमा केही भएको छैन भन्ने निराशा फैल्याउने काम गरिरहेको उनको आरोप छ ।

नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले प्रचार गरिएजस्तो देशमा केही नभएको भन्ने आरोप गलत भएको बताएका हुन् ।‘प्रधानमन्त्रीको हैसियतले धेरै बोल्न आवश्यक ठानेको छैन, एकथरी मान्छेहरू एउटा प्रवृत्ति केही भएको छैन, नेपालमा केही छैन । पार्टी र नेता सबै खत्तम छन् भन्ने भाष्य बनाउन खोजिएको छ ।

त्यो भाष्य मेरो विचारमा प्रतिक्रियावादी र प्रतिगमनकारी भाष्य हो,’ प्रचण्डले भने, ‘नेपालमा परिवर्तन भएको छ, जनताले बलिदान गरेका छन, पार्टीले जनताको आन्दोलनको नेतृत्व गर्दै आएका छन् । आन्दोलन र नेताले अझै ठूलो परिवर्तनको जनताको आशा अपेक्षा पूरा गर्न फेरि संकल्प लिन र एकताबद्ध हुन जरुरी छ ।’

आफूलाई अस्थिर भनेर नेकपा समाजवादीको दस्तावेजमा लेखिएको प्रति प्रचण्डले असहमति जनाउँदै आफू गतिशील भएको दाबी गरे ।

 

 

 

 

 

 

 

‘नेकपा एसको प्रतिवेदनमा माओवादीलाई नजिकको मित्र शक्ति भनिएको रहेछ साथसाथै अस्थिर पनि भन्नु भएको छ, भन्ने अधिकारमाथि प्रश्न उठाउन चाहन्न,’ उनले भने, ‘तपाईंहरूको भाषामा प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध, शान्ति सम्झौता हुने थियो ? के मार्क्सवाद भनेको किलोजस्तो एक ठाउँमा ठोकिएर बस्ने या जमेको पोखरी हो कि नदी जस्तो गतिशील हो मार्क्सवाद ?’