विकसित देशहरूले प्रतिबद्धता पालना गरेनन्, थप समस्या सिर्जना गरे : प्रधानमन्त्री प्रचण्ड

असंलग्न आन्दोलनमा नेपालको भूमिका

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, १६ : २६
विकसित देशहरूले प्रतिबद्धता पालना गरेनन्, थप समस्या सिर्जना गरे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकसित देशहरूले गरेका प्रतिबद्धता पालना नगरेको र थप समस्या सिर्जना गरेको आरोप लगाउँदै असंलग्न आन्दोलनमा सहभागी राष्ट्रहरूले दबाब दिनुपर्ने बताएका छन् ।

 

युगाण्डाको राजधानी कम्पालामा जनवरी १५ देखि जारी असंलग्न आन्दोलन (नन एलाइन्ड मुभमेन्ट)-नाम को १९ औं शिखर सम्मेलनमा विकसित देशले गरेको प्रतिबद्धता पालना गराउन पनि असंलग्न आन्दोलनको थप भूमिका हुने बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै भने, 'विकसित देशहरूले विगतमा धेरै प्रतिबद्धता गरेका छन् तर पालना गरेका छैनन् । थप समस्या सिर्जित भएका छन् । यो परिप्रेक्षमा नामले पहलकदमी बढाउनुपर्छ र अलि शक्तिशाली आवाज घन्काउनुपर्छ । संयुक्त राष्ट्र संघलाई पनि झकझक्याउनुपर्छ भन्ने मेरो जोड थियो ।'

 

उनले असंलग्न आन्दोलनको १९ औं शिखर सम्मेलनमा सहभागी हुनु नेपाल र नेपालीका लागि गर्वको विषय रहेको बताए ।प्रधानमन्त्री प्रचण्डले विश्वमा गम्भीर समस्या देखिएको समयमा भएको नामको शिखर सम्मेलन महत्त्वपूर्ण रहेको बताए ।

'यो सम्मेलन त्यतिबेला भयो, जतिबेला विश्वमा गम्भीर समस्या देखिएका छन्,' उनले भने, 'रुस-युक्रेन युद्ध होस् या हमास-इजरायल युद्ध होस् । कोभिडबाट भर्खर मुक्त पाइएको छ । कम विकसित देशहरू समस्यासँग जुधिरहेका छन् । मैले नेपालको तर्फबाट यी सबै समस्याको समाधानको निम्ती नामले जोड दिनुपर्छ भन्ने आवाज उठाएको छु ।'

उनले नामको आवश्यकता पहिला भन्दा अहिले बढेको बताए ।  नेपालको भूमिका थप बलियो भएको उनको जोड थियो ।'नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक सदस्य पनि हो,' प्रधानमन्त्री प्रचण्डले भने, 'स्थापनाकाल देखि नै नेपालले असंलग्न आन्दोलनमा भूमिका खेल्दै आएको छ । नेपालको तर्फबाट अलि जोड दिएर समस्याहरूको समाधान गर्ने भूमिका मैले खेलेको छु ।'

हिजो शीतयुद्धकालमा गठन भएको भएपनि आज नाम उत्तिकै सान्दर्भिक र थप बलियो भूमिकामा देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

'शीतयुद्ध भन्दा पनि अहिले जटिल र गम्भीर परिस्थिति देखा परेको छ । त्यसले गर्दा यसलाई थप सशक्त गराउनुपर्छ,' उनले भने, 'शीतयुद्धसँग जोडेर असंलग्न आन्दोलनलाई हेर्न जरुरी छैन । पहिलेको भन्दा समस्या घटेको होइन, बरू बढेको छ ।'

उनले संसारका १२० भन्दा बढी राष्ट्र-प्रमुख र सरकार-प्रमुखहरूले असंलग्न आन्दोलनको भूमिका बढेकोमा एउटै आवाज उठाएको बताए ।'धेरै राष्ट्र प्रमुख सरकारहरूले पनि यसको भूमिका बढेको छ भनेका छन्,' उनले भने ।भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको साइडलाइन बैठकमा पन्चेश्वरलाई ब्रेक थ्रु गर्ने विषयमा भारत सकारात्मक रहेको प्रचण्डको भनाइ छ ।