विश्वविद्यालयहरूमा प्रधानमन्त्री पदेन कुलपति हुने व्यवस्था व्यवहारिक छैन : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, ११ : ५२
विश्वविद्यालयहरूमा प्रधानमन्त्री पदेन कुलपति हुने व्यवस्था व्यवहारिक छैन : प्रधानमन्त्री प्रचण्ड

काभ्रे । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था व्यवहारिक नभएको बताएका छन् ।

काठमाडौँ विश्वविद्यालयले स्थापनाको ३२ वर्ष पछि नेपालमै पहिलो पटक आयोजना गरेको राष्ट्रिय उपकुलपति सम्मेलनको केन्द्रीय कार्यालय धुलिखेलमा उद्घाटन पछि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त धारणा राखेका हुन् ।

प्रधानमन्त्री पदेन कुलपति हुने व्यवस्था परिवर्तन गर्दा कुनै अमुक शक्ति समूहले विश्वविद्यालयलाई पार्न सक्ने प्रभावका बारेमा सचेत रहनु पर्ने प्रधानमन्त्री दाहालले बताए । विश्व विद्यालयहरू आफ्नै श्रोत साधनबाट सञ्चालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्नु पर्ने बताउँदै दाहालले पछिल्लो समय प्रदेश स्तरबाट समेत सञ्चालन हुन थालेका विश्वविद्यालयहरूको गुणस्तर र त्यहाँबाट उपलब्ध हुने सेवा तर्फ ध्यान दिनु आवश्यक रहेको बताए । ‘सरकारले उच्च शिक्षाका लागि लगानी गर्न सकेको छैन ।

गरेको लगानी पनि पर्याप्त छैन’–प्रधानमन्त्री दाहालले भने–‘विश्वस्तको शिक्षालाई नेपालमा उपलब्ध गराउन तथा विश्वस्त रमा प्रतिस्पर्धा गर्न सक्ने खालका शिक्षा नेपालको व्यवहारिकतामा उपलब्ध गराउन आवश्यक छ ।’ उद्यमशीलता, वातावरणमैत्री तथा लगानीमैत्री क्षेत्रमा शिक्षालाई जोडै व्यवसायी, व्यवहारिक र रोजगारमूलक शिक्षा उपलब्ध गराउनु पर्नेमा प्रधानमन्त्री दाहालको जोड छ ।

विश्वविद्यालयका गतिविधिहरूलाई क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फू¥याउन विश्व विद्यालय अनुदान आयोगले काम गर्नु पर्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालका सबै विश्वविद्यालयमा एकै किसिमको शैक्षिक क्यालेण्डर, पाठ्यक्रम र परिक्षा प्रणाली हुने विषयमा छलफल भइरहेको बताए । ‘विद्यार्थीहरूले आर्जन गरेको शैक्षिक ज्ञान र उपलब्धतालाई नेपालका लागि आवश्यक जनशक्तिका रूपमा विकास गर्न विश्वविद्यालयहरू बिच सहकार्य र समन्वय जरुरी छ’–प्रधानमन्त्री दाहालले भने–‘नेपाललाई उच्च शिक्षाको शैक्षिक हब बनाउन सकिन्छ र गर्नु पर्छ ।’ काठमाडौँ विश्वविद्यालयले सुरु गरेका शैक्षिक कार्यक्रम, नयाँ खोज र अनुसन्धान तथा प्राप्त गरेका उपलब्धिहरू नमुनायोग्य भएको प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस