त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १३ : ३४
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै सुरक्षा अङ्गका प्रमुखसँग सिमलताल बस दुर्घटना पछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा भेटेर सुरक्षा अङ्गका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन समेत सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै उनले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अभिछिन्न रूपमा जनताको सेवामा लागि पर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस