कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

सफल खबर संवाददाता

मंगलबार, ०५ मंसिर २०८०, १३ : ५०
कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् ।मंगलबार काठमाडौँमा आयोजित जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै विकसित राष्ट्रहरू अझै पनि पीडित देशहरूलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताएका हुन् ।

उनले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिए ।

 उनले भने, ‘विकसित राष्ट्रहरू अझै पनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् की यो वातावरणीय परिवर्तनका महासन्धि, सन्धिहरूमा हस्ताक्षर गर्नका लागि उनीहरूलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फन्डमा यति पैसा राख्छौँ, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फन्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाइँको नेतृत्व हामीले गर्नुपर्छ । अब हुने कोप २८ मा यो लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ ।

जलवायु परिवर्तनको नाममा हामी कहाँ पनि धेरै खर्चहरू भएको म देख्छु । तर त्यो खर्च अब कतापट लैजाने ? त्यसबारेमा पनि सोच्नुपर्छ । सफ्टवेयरमा धेरै खर्च गरेका छौँ, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।’

प्रतिक्रिया दिनुहोस