काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन/अनुसन्धानको प्रयोजनका लागि आर्थिक तथ्याङ्क र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ । गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार केन्द्रीय बैंक बालुवाटारमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रयमासमा आवश्यक तथ्याङ्क र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउने सहमति भएको छ । त्यसको निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ ।
साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्याङ्क र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ ।
महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्याङ्क नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले अध्ययन विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनको लागि मात्र उपयोग गरिनेछ । सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्याङ्क र सूचनाको पूर्ण रूपमा गोपनीयता कायम गरिने दुई पक्षीय समझदारी छ ।
त्यसरी उपलब्ध गराइएको तथ्याङ्क र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययन अनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ । तथापि, उद्योग व्यवसायको पहिचान नहुनेगरी प्रकाशित भएको तथ्याङ्क सूचनाको उपयोगमा भने बाधा पर्ने छैन ।
कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्याङ्क र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।यसैगरी, महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्याङ्क र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोखरेल तथा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
बैंकिङ प्रणालीबाट ८० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक