झलनाथ खनालले दशैंको शुभकामना दिंदै औंल्याए नेपालका ४ संकट

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १३ : ०५
झलनाथ खनालले दशैंको शुभकामना दिंदै औंल्याए नेपालका ४ संकट

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् ।

 

शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । ‘हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ’ उनले भने। पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ’, उनले भने।

देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनसुकै अवस्थामा भए पनि चाडपर्व खुसियालीका पर्व भएकाले जस्तोसुकै अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए ।

नेपालमा वर्तमानमा देखा परेका सबै समस्या, विकृति, विसंगतिहरु दलाल पूँजीवादी व्यवस्थाले सिर्जना गरेको उल्लेख गर्दै उनले समाजवादी समाज निर्माण गर्नका लागि प्रयत्न भइरहेको बताए ।

‘एक दिन हामी एउटा सुन्दर, सभ्य, समृद्ध समाजवादी समाजमा पुग्नेछौं । र साँच्चै नै सबैको खुसियालीका निम्ति सम्पूर्ण पर्वहरु नयाँ ढंगले मनाउने छौं । तर, अहिले हामी जे अवस्थामा छौं त्यही अवस्थामा चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता छ । म सबैलाई चाडपर्वहरुको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस