काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गरेका हुन् । उनले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए ।चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाएका छन् ।
“यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ”, उनले भने ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिए । “अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ”, उनले भने, “चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १५ : ५३
लेखकबाट थप